विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट अनिवार्य गर्न सरकारको निर्देशन
थानकोट ।
सरकारले सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।
यातायात व्यवस्था विभागले यातायात व्यवसायी र सम्बन्धित निकायलाई परिपत्र गर्दै यो सहुलियत कडाइका साथ कार्यान्वयन गर्न भनेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विभागले विद्यार्थीको कानुनी अधिकार सुनिश्चित गर्न भनेको हो ।
इन्धनको मूल्यवृद्धिपछि कतिपय सवारीसाधनले छुट नदिएको गुनासो बढ्दै गएपछि विभागले यस्तो निर्देशन दिएको हो । हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरी दिएका छन् ।
विद्यार्थी परिचयपत्र देखाउँदा पनि छुट दिन अस्वीकार गर्ने तथा दुर्व्यवहार गर्ने गुनासो आएपछि विभागले पुनः ध्यानाकर्षण गराएको हो ।
विभागले २० फागुन २०६५ मा सरकार र यातायात व्यवसायीबीच भएको सहमतिलाई स्मरण गराउँदै सोहीअनुसार छुट दिनुपर्ने बताएको छ । सो सहमतिअनुसार विद्यार्थीहरूले सार्वजनिक सवारीमा ४५ प्रतिशत भाडा छुट पाउँदै आएका छन् ।
यदि कुनै सवारीसाधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन नमाने कारबाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ ।














