धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिग सिजन-२ को उपाधी

Thankot Times

थानकोट ।

फाइनलमा धनगढी एफसीलाई ३–२ ले हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधि जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो ।

३७औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर, धनगढीको यो अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई खेलमा फर्काए ।

दोस्रो हाफमा ललितपुरले दुई गोल थप्यो । ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई २–१ को अग्रतामा राखे । त्यसको आठ मिनेटपछि इजेकेलले गोल गर्दै ललितपुरलाई ३–१ को अग्रतामा पुर्‍याए ।

इन्ज्युरी समयमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई ३–२ को अवस्थामा ल्याए पनि टिमको हार टार्न सकेनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *