पौष २५ गतेबाट थाहाको चित्लाङमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने
थानकोट ।
स्वच्छन्द भैरव युवा क्लबको आयोजनामा थाहा नगरपालिका वडा नम्बर-९ स्थित चित्लाङमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको लागि पुस २४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने बताइएको छ ।
युवाहरुलाई भलिबल खेलतर्फ जागरुक बनाउने उद्देश्यले हरेक वर्ष स्वच्छन्द भैरव युवा क्ल्वले प्रतियोगिता आयोजना गर्दै आइरहेको अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए । गतवर्ष २७ वटा टिमले सहभागिता जनाएको प्रतियोगितामा बज्रबाराहीको कोटदरबार पहिलो भएको थियो ।
गतवर्ष प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार २५ हजार र तेस्रो पुरस्कार १५ हजार रुपैयाँ रहेकोमा यसवर्ष पुरस्कारको राशिमा वृद्धि गर्ने लक्ष्य रहेको उनले बताए ।
पुस २२ गते सम्म प्रतियोगिताको लागि १० वटा टिमले दर्ता गरिसकेको उनले बताए। माघ १ गतेसम्म आयोजना हुने प्रतियोगितामा करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
स्वच्छन्द भैरव युवा क्लवले आयोजना गर्न लागेको यो प्रतियोगिता २७ औँ संस्करण हो ।
प्रतियोगिताको उद्घाटन थाहा नगरपालिका वडा नम्बर-९ का वडाध्यक्ष राजकुमार बलामीले गर्नेछन भने समापन मकवानपुरका प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले गर्ने आयोजकले जनाएको छ ।













