यू-१९ विश्वकप क्रिकेट:दक्षिण अफ्रिका र आयरल्याण्डको विजयी सुरुवात, आज तीनवटा खेल हुने

Thankot Times

थानकोट ।

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपको पहिलो खेलमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । समूह ए अन्तरगत अमेरिकाले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य आयरल्याण्डले मात्र २२.५ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

आयरल्याण्डलाई जीत दिलाउन ओपनर रायन हन्टरले नटआउट रहँदै अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ५० रन बनाए । त्यस्तै, कियान हिल्टन र कप्तान फिलिपस ले रक्सले २३–२३ रनको योगदान दिए । अमेरिकाका लागि आर्या गर्गले ३ तथा कुश भलालाले १ विकेट हात पारे ।

यसअघि रुबेन विल्सन र ओलिभर राइलीले घातक बलिङ गरेपछि अमेरिका ४०.२ ओभरमा १ सय ५ रनमा समेटिएको थियो । आयरल्याण्डका लागि जोन म्याकनेलीले २ विकेट लिए । उता अमेरिकाका लागि कुश भलालले २२ रन, पार्थ पटेलले १३ रन र अमोघ अरेपालीले ११ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

यसैगरी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले वेष्ट इण्डिजमाथि जित हात पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

समूह बीमा रहेको दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रनले पराजित गरेको हो ।

वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रनको बलियो स्कोर खडा गरेको थियो । दक्षिण अफ्रिकाका लागि डेभोन मराइसले सर्वाधिक ६५ रनको इनिङ खेले । कप्तान जुआन जेम्सले ४७ रन, डेभिड टाइगरले ४४ र एल प्रिटोरियसले ४० रनको योगदान दिए । वेस्ट इन्डिजका लागि नाथन सीलीले सर्वाधिक ३ विकेट लिए । नाथन एडवर्ड्स र डिसन जेम्सले समान २–२ विकेट लिए ।

लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोली ४०.१ ओभरमा २५४ रनमा सीमित भयो । वेस्ट इन्डिजका लागि ज्वेल एन्ड्रयुले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । उनले ९६ बलमा १४ चौका र तीन छक्का प्रहार गर्दै १३० रन बनाए । तर, अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतक पनि बनाउन सकेनन् र एकपछि अर्को गर्दै आउट भए जसका कारण टोली हारेको थियो । दक्षिण अफ्रिकाका लागि क्वेना माफाकाले सर्वाधिक ५ विकेट र रिले नोर्टनले ३ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज शनिबार तीन खेल हुने तालिका रहेको छ । जसअनुसार दिनको पहिलो खेलमा साबिक च्याम्पियन भारतले बंगलादेशको सामना गर्नेछ । दोश्रो खेलमा इंग्ल्याण्डले स्कटल्याण्डको सामना गर्दा तेस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच खेल हुनेछ । तीन वतै खेल नेपाली समय अनुसार दिउँसो पाैने २ बजे सुरु हुनेछ ।

भोलि शनिबार नेपाल र न्युजिल्याण्ड तथा श्रीलंका र जिम्बावेबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *