यू-१९ विश्वकप क्रिकेटः बङ्गलादेश र अष्ट्रेलियाको सहज जित, आज दुई खेल हुँदै
थानकोट ।
दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा बङ्गलादेशले आयरल्यान्डलाई ६ विकेटले हराएको छ ।
दोस्रो खेलमा बङ्गलादेशको यो पहिलो जित हो । पहिलो खेलमा बङ्गलादेश भारतसँग पराजित भएको थियो । सोमबार सम्पन्न खेलमा २ सय ३६ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले ४६ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
बङ्गलादेशका मोहम्मद शिहाव जेम्सले नकआउट अर्धशतक पूरा गरे । ६३ बल खेलेका उनले ३ चौका र १ छक्काकासाथ ५५ रन बनाएका थिए । अरर अमिमले नटआउट ४५, ओपनर असिकुर रहमान शिब्लीले ४४ अर्का ओपनर अदिल विन सिद्धिकले ३६, चौधुर मोहम्मद रिजवाले २१ र अरिफुल इस्लामले १३ रन बनाएका थिए ।
आयरल्यान्डका स्कट म्याकबेथले २, जोन म्याकनेली र म्याथु विल्डनले समान १ विकेट लिए । त्यसअघि बङ्गलादेशले टस जितेर आयरल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । आयरल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३५ रन बनाएकोे थियो । उसका लागि केन हिल्टनले सर्वाधिक ९० रन बनाएका थिए । आयरल्यान्डले पहिलो खेलमा अमेरिकालाई हराएको थियो ।
यसैगरी, सोमबार नै सम्पन्न दोश्रो खेलमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले हराएको छ । ९२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको छ । अस्ट्रेलियाका लागि कप्तान हुग विब्गेन सर्वाधिक ३९ रनमा नआउट रहेका थिए ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका हुगले ४३ बलमा ४ चौका हानेका थिए । ओपनर ह्यारी डिक्सन र राफ म्यामिलनले समान १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाका ज्याक ब्रासेलले ८ ओभरमा २ मेडनसहित २८ रन दिएर ३, हान्रो बाडेनहोस्टेले २ र हेन्री भान वेकले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालाई अस्ट्रेलियाले ३३ ओभर १ बलमा ९१ रनमा अलआउट गरेको थियो । अस्ट्रेलियाका कालुम भिड्लेरले ४ विकेट लिएर म्यान अफ दी म्याच बनेका थिए । समूहको पहिलो खेलमा श्रीलङ्काले जिम्बावेलाई हराएको थियो ।
प्रतियोगिता अन्तर्गत आज बुधबार दुई खेल हुँदैछन्, जहाँ दक्षिण अफ्रिका र इंन्ल्याण्ड तथा न्युजिल्यान्ड र अफगानिस्तानीच खेल हुने तालिका रहेको छ ।













