फिल्डमा उत्रँदै चन्द्रागिरि नगर प्रहरी, ठेलागाडा तथा फुटपाथ पसल व्यवस्थापन पहिलो प्राथमिकतामा
थानकोट ।
चन्द्रागिरि नगर प्रहरी फिल्डमा खटिन थालेका छन् ।
चन्द्रागिरि नगरपालिकाले क्षेत्र विशेष तोकेरै नगर प्रहरी कार्य क्षेत्रमा खटाउन थालेको हो ।
मंगलबार एक सूचना जारी गर्दै नगरले सडकका दायाँबायाँ मालसामन राखेर व्यापार व्यवसाय संचालन गरिँदा तथा अनधिकृत पार्किङले सर्वसाधारण नागरिकहरूलाई आवातजावतमा असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढेको साथै शहरी साैन्दर्यतामा समेत ह्रास आएको भन्दै नगरपालिका क्षेत्रभित्र पर्ने त्रिभुवन राजपथ तथा मूल एवं सहायक सडकका दायाँबायाँ तथा सडकका फुटपाथमा सञ्चालन गरिएका पसल एवं ठेलागाडाहरू हटाउन सार्वजनिक आह्वान गरेको छ।
सार्वजनिक आह्वान अटेर गरिएमा नगरप्रहरीले प्रचलित कानून अनुसार कारबाही प्रकृया अघि बढाउने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।
चन्द्रागिरि नगरमा गत माघ ४ गते नगरप्रहरीहरूका लागि दर्ज्यानी चिन्ह प्रदान गरिएसँगै औपचारिक रूपमा नै नगर प्रहरी परिचालनको बाटो खुलेको थियो । हाल चन्द्रागिरि नगरमा नगर प्रहरी सहायक निरीक्षकसहित २४ जना कार्यरत छन् ।
नगर प्रहरी प्रमुख ( नगर प्रहरी निरीक्षक) पद भने रिक्त छ ।

अब नगर प्रहरीको पोशाक लगाएर कार्य क्षेत्रमा खटिनेछन चन्द्रागिरि नगर प्रहरी (फोटो फिचर)










