अब नगर प्रहरीको पोशाक लगाएर कार्य क्षेत्रमा खटिनेछन चन्द्रागिरि नगर प्रहरी (फोटो फिचर)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

चन्द्रागिरि नगरपालिका-८ मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा चन्द्रागिरि नगरपालिकामा गत महिना नियुक्त भएका नगर प्रहरीका लागि आयोजित आधारभूत तालिम सकिएसँगै नगरप्रहरीहरूले दर्ज्यानी चिन्ह पाएका हुन् ।

मंसिर २४ गतेबाट नगर प्रहरी सहायक निरिक्षक तथा नगर प्रहरी जवान गरी २३ जना सहभागी भएका थिए । आधारभूत तालिम समापनका क्रममा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायत अन्य वडाध्यक्षहरू, नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगर कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू लगायत चन्द्रागिरि नगरका कर्मचारी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सो क्रममा नगर प्रहरीहरूका लागि अन्तिम प्रवचन कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

एक महिने तालिमका क्रममा नगर प्रहरीहरुलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका प्रशिक्षकहरुबाट अग्नी नियन्त्रण, आपतकालीन उद्दार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक व्यवस्थापन, मानव अधिकार, ड्रिल, भूकम्प, हुल तथा दङ्गा व्यवस्थापन, अनआर्म कम्व्याट, कानुन लगायत विविध विषयहरुमा प्रशिक्षित गरि काठमाडौं महानगरपालिकाको समेत भ्रमण गराईएको थियो ।

नगरपालिकाले नगर प्रहरीका लागि २५ पदमा आवेदन माग गरे पनि नगर प्रहरी प्रमुख (इन्सपेक्टर) बाहेक सबै पदपूर्ति भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

नगर प्रहरी प्रमुखको परीक्षामा सम्मलित ३ जना उम्मेदवारहरूमा कोही पनि उत्तीर्ण हुन नसकेपछि पुनः आवेदन खोलिने नगरपालिकाले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *