यू-१९ विश्वकप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित, सुपर सिक्सको सम्भावना जिवितै

Thankot Times

थानकोट ।

आईसीसी यू-१९ विश्वकपमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको छ । 

बुधबार दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाएर भेटायो । 

पाकिस्तानको जितमा अजान अवाइसले ६३ रन बनाए । उनले ८२ बलमा ६ चौका प्रहार गरे ।

सामयाल हुसेन र साहजैब खानले समान ३७ रन थपे । अहमद हसनले २९ र हरुन अर्सदले १५ रन जोडे ।

सो खेलमा नेपालका ब्याटरले दौडिएरै पाँच रन बनाएका थिए ।

विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कम मात्र देख्न पाइन्छ । नेपालका आकाश चन्दले ४९औँ ओभरको पाँचौँ बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका मोहम्मद जिसानको बलमा आकाश र सुवास भण्डारीले दौडिएर पाँच रन ल्याए ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले अब समूह चरणको अन्तिम खेलमा जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

समुहका शीर्ष ३ मा रहने टोली सुपर सिक्समा प्रवेश गर्ने नियम हुँदा अन्तिम १-१ खेल खेल्न बाँकी रहेका नेपाल र अफगानिस्तानबीचको खेलको विजेता समेत सुपर सिक्समा प्रवेश गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *