यू-१९ विश्वकप क्रिकेटः स्पीनर सुवास भण्डारीमाथि आईसीसीको कारबाही, भण्डारीले गल्ती स्वीकारे

Thankot Times

थानकोट ।

नेपाली युवा अफ स्पीनर सुवास भण्डारीले यू-१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् । गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा यो घटना भएको हो ।

उक्त खेलमा नेपालले १ सय ९७ रन बनाएको थियो जसलाई पाकिस्तानले ४८ औँ ओभरमा पछ्याउँदै ५ विकेटको जीत हासिल गरेको थियो । पाकिस्तानले ब्याटिङ गरिरहँदा १४ औँ ओभरमा भण्डारीले गलत तरिकाले पाकिस्तानका ब्याट्सम्यान शाहजिब खानतर्फ फ्याँकेका थिए । बलले उनको हातमा लागेको थियो ।

आईसीसीका अनुसार भण्डारीले आईसीसी कोड अफ कन्डटक्टको आर्टिल २.९ लाई तोडेको पाइएको छ । यस अनुसार कुनै पनि खेलाडीले खेलका दौरान खेलाडीतर्फ वा खेलाडीको नजिक खतरनाक वा गलत तरिकाले बल फ्याँक्न पाउँदैन् ।

कारबाही स्वरूप आईसीसीले भण्डारीको अनुशासनको रेकर्डमा एक ‘डिमेरिट प्वाइन्ट’ थप गरेको छ । भण्डारीले आफूले गल्ती गरेको र आईसीसीका म्याच रेफ्री ग्रेम ल्याब्रोईद्वारा प्रस्तावित कारबाही स्वीकार गरिसकेकाले यसबारे थप सुनुवाइ आवश्यक नरहेको आईसीसीले जनाएको छ ।

लेभल १ को नियम तोड्दा खेलाडीको म्याच फिको ५० प्रतिशतसम्म जरिवाना र एक वा दुई अङ्क डिमेरिट प्वाइन्ट दिइन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *