दोश्रो हारका बाबजुद चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड ढोरपाटन महिला भलिबलको दोश्रो चरणमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड स्पोर्ट्स क्लब ढोरपाटन महिला भलिबलको दोश्रो चरणमा प्रवेश गरेको छ । 

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको सातौं दिन बिहीबार ३ विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एन्जल्स हार्ट‌ कलेज विजयी हुँदा चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड स्पोर्ट्स क्लबले भने लगातार दोश्रो हार व्यहोर्यो ।

प्रतिस्पर्धात्मक खेलमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमलाई ३-२ ले हराउँदै एपिएफ शीर्षस्थानमा थप मजबुत भएको छ ।

पहिलो र तेस्रो सेट गुमाएको साविक विजेता एपिएफले १४-२५, २५-२१, २१-२५, २५-१४ र १५ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। प्रतियोगितामा एक मात्र अपराजित एपिएफको २० अंक पुगेको छ।

अघिल्लो दिन पुलिससँग पराजित न्यु डायमण्ड १५ अंक सहित चौथोमा झरेको छ भने आर्मीले १६ अंकका साथ दोस्रो स्थानमा रहँदै पहिलो चरणको अन्त्य गरेको छ । समान १५ अंकसहित पुलिस सेट रेसियोको आधारमा तेस्रो स्थानमा छ ।

यस्तै ९ अंक जोडेको एन्जल्स हार्ट पाँचौं र छैटौंमा धादिङ स्पोर्टस क्लबको ६ अंक छ । शीर्ष ६ मा पर्न सफल टोलीले दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् । बाहिरिएको जावलाखेलले ३ अंक जोड्दा बागमती विना अंक घर फर्केको छ।

दोस्रो चरणको खेल शुक्रबारबाट सुरु हुनेछ। ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

हाम्रो खेलकुदबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *