थानकोट चेकपोष्टस्थित चन्दन भराटेश्वरका सम्पदा मल्लकालीन देवस्थल भएको प्रमाण

थानकोट ।

 चन्द्रागिरि नगरपालिका–६ स्थित चन्दन भराटेश्वर महादेवस्थल परिसरका सम्पदाको प्रारम्भिक अध्ययनले उक्त सम्पदा तीन सय वर्षअघिका मल्लकालीन भएको प्रमाण प्राप्त भएको छ । पुरातत्वविद् एवं छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठ तथा वडा प्रतिनिधिसहितको टोलीले गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो ।

“अध्ययनका क्रममा नेपाल संवत् ८०९ (तीन सय ३५ वर्षअघि) को एउटा र नेपाल संवत् ८३२ (तीन सय १२ वर्षअघि) का शिलालेख भेटिएका छन् । त्यसले यहाँ थप पुरातात्विक सम्पदा हुनसक्ने सङ्केत गरेको छ”, श्रेष्ठले भने । उनका अनुसार नेसं ८०९ चैत्र शुक्ल मिति उल्लेखित शिलालेखमा ‘श्री ३ योगनरेन्द्र मल्ल’ लेखिनुका साथै ‘नास द्योछें’ उल्लेख छ । “यसको अर्थ यहाँ नृत्यका देवता राखिने घर (नास द्यो छेँ) थियो भन्ने हो”, श्रेष्ठले भने ।

कालक्रममा नास द्यो छेँ भत्किएर पुरिएको र शिलालेख चाहीँ बाहिर रहेको हुनसक्ने उनको अनुमान छ । यसले सो क्षेत्रमा ठूला सम्पदा रहेको सङ्केत गरेको उनले बताए । त्यसैगरी नेसं ८३२ को शिला लेखमा ‘काशीनाथ भारो (सम्भवतः थर) र शिव भारोले गणेशको मूर्ति स्थापना गरेको’ उल्लेख छ ।

त्यतिबेला कीर्तिपुरदेखि थानकोटसम्मको क्षेत्र काठमाडौँ उपत्यकाका तीन राज्यमध्ये पाटनको अधिनस्थ रहेकाले योगनरेन्द्र मल्लको नाम उल्लेख भएको पनि पुरातत्वविद् श्रेष्ठले बताए । सोही स्थानमा तीन वर्षअघि चन्दन भराटेश्वर मन्दिर परिसरको दक्षिण पूर्वी कुनामा रहेको पार्वती कुण्ड सफा गर्दा एउटा ठूलो ढुङ्गेधारा भेटिएको थियो । त्यसपछि जनप्रतिनिधिले पुरातत्वविद्लाई थप अध्ययन गरिदिन अनुरोध गरेका थिए ।

“मकर आकृतिको त्यो धारा प्राचीन हो । तर कति पुरानो (लिच्छवी वा मल्लकालको) हुन् भन्ने कुराको निक्र्योलका लागि थप अध्ययन गर्नुपर्छ”, पुरातत्वविद् श्रेष्ठले भने । यसका लागि फागुनको दोस्रो सातादेखि उक्त क्षेत्रमा थप उत्खनन गर्नुपर्ने वा नपर्नेबारे अध्ययन गरिने उनले जानकारी दिए । वडाध्यक्ष सञ्जय सिग्देलका अनुसार जनप्रतिनिधिले लामो समयअघिदेखि चन्दन भराटेश्वर क्षेत्रको उत्खनन गर्नुपर्ने माग राख्दै आएका थिए ।

मकर आकृतिको धाराको आकार प्रकार र त्यसमा कुँदिएका बुटाका आधारमा पुरातत्वविद्ले लिच्छविकालीन हुनसक्ने अनुमान गरेका उनको भनाइ थियो । पछिल्लो समय नगरपालिकाले चन्दन भराटेश्वर मन्दिर परिसरमा गुठी, क्लब र ज्येष्ठ नागरिक भवन बनाउने गरी गुरु योजना मनाइरहेको छ ।

त्यसअघि नै त्यहाँ उत्खनन गरेर प्राप्त सम्पदाको व्यवस्थापन गर्ने र आवश्यकता परे गुरु योजनासमेत संशोधन गर्नुपर्ने अवस्था आउने चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीको भनाइ छ । वडाध्यक्ष सिग्देलका अनुसार उक्त मन्दिर परिसरसहित वडा नं ६ मा भेटिएका अन्य सम्पदाको संरक्षणका लागि पनि पुरातत्व विभागसँग समन्वय भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *