ढोरपाटन महिला भलिबल डबल लिगमा चन्द्रागिरि न्यु डायमण्ड दोश्रो, सुमित्रालाई स्कुटर पुरस्कार
थानकोट ।
१६ औं ढोरपाटन महिला भलिबल लिग भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल टिमले जितेको छ ।
चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड स्पोर्ट्स क्लब प्रतियोगिताको उपविजेता बनेको छ भने नेपाल पुलिस तेस्रो हुँदा नेपाली सेनाको टिम चाैथो भएको छ ।
प्रतियोगिताको विजेता एपिएफले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता न्यु डायमन्डले २ लाख ५० हजार पायो । तेस्रो भएको पुलिसले १ लाख २५ हजार तथा चौथो स्थानको आर्मीले ७५ हजारमा चित्त बुझायो ।
नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना र चन्द्रागिरी नगरपालिका न्यु डायमन्डकी मिडल ब्लकर सुमित्रा रेग्मीले १६ औं ढोरपाटन महिला भलिबल लिगमा उत्कृष्ट खेलाडी र उदियमान खेलाडी बन्दै स्कुटर जितेका छन् ।

प्रतियोगितामा उच्च प्रदर्शन गरेका दुवैले विद्युतीय स्कुटर पुरस्कारस्वरूप प्राप्त गरेका हुन् । निरुता सम्मिलित एपिएफ डबल लिगमा अपराजित रहेर च्याम्पियन बनेको थियो । त्यस्तै न्यु डायमन्ड लिगको १२ मध्य ९ खेल जित्दै दोस्रो भएको हो ।
विधागततर्फ न्यु डायमन्डकै जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर घोषित हुँदा प्रगति नाथ उत्कृष्ट सेटर बनिन् । पुलिसकी शान्तिकाला तामाङ उत्कृष्ट लिबेरो तथा आर्मीकी कप्तान सुनिता खड्का उत्कृष्ट ब्लकर घोषित भइन् । च्याम्पियन एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक बन्दा आर्मीकी सुनिता राई उत्कृष्ट सर्भर बनिन् । एपिएफकी सृष्टि खड्गीले पनि उदियमान खेलाडी बन्दै १० हजार रुपैयाँ पाइन् ।
हाम्रो खेलकुदबाट













