एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: बक्सिङ प्रशिक्षक दिपक महर्जन वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा
थानकोट ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ को वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।
आयोजक मञ्चले मंगलबार अवार्डको २०औँ संस्करणको वर्ष प्रशिक्षकको मनोनयमा पर्न सफल आठजनाको नाम सार्वजनिक गरेको हो । वर्ष–२०७९ को उत्कृष्ट प्रशिक्षकको मनोनयमा फुटबलमा अनन्त थापा, क्रिकेटका मोन्टी देसाई, फुटबलकै भगवती रानामगर, भलिबलका भरत शाह, एथलेटिक्सका चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन, क्रिकेटका जगत टमाटा र पौडीका ओङ्देन लामा मनोनयनमा परेका छन् ।
मञ्चले यसअघि वर्ष प्रशिक्षकमा पाँचजना मनोनयन सार्वजनिक गर्दै आएको थियो । तर, यस संस्करणदेखि नयाँ प्रयोग सुरु गरेको मञ्चले आठजना पहिलो चरणको मनोनयनमा राखेको छ । जसबाट केही दिनपछि शीर्ष तीनजना छानिने र अवार्डको दिन उक्त तीनजनाबाट विजेता चुनिने मञ्चले जनाएको छ ।
मनोनयनमा चन्द्रागिरि नगरपालिका १० सतुगंल बोसिगाउँका दिपक महर्जनसमेत परेका छन् ।
यस्तो छ मनोनयनमा परेका प्रशिक्षकको तथ्यांकः
दीपक महर्जन (बक्सिङ)
– एएसबीसी यू–२२ एसियाली महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा एक रजत र तीन कांस्य पदक दिलाउँदाका प्रशिक्षक ।
–च्याम्पियनसिपमा सुष्मा तामाङ रजत जित्न सफल, हेमा राई, त्रिशा जबेगु र विजय बाटा कांस्य जित्न सफल ।
अनन्त थापा (फुटबल)
– साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिमका प्रशिक्षक
– साफ च्याम्पियनसिपमा पहिलो पटक नेपालले भारतलाई हराउँदाका प्रशिक्षक
– भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलमा बराबरी नतिजा
– पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक एसियाली छनोटमा भियतनामविरुद्ध घरेलु मैदान दुई खेलको प्रशिक्षक
भगवती रानामगर (फुटबल)
– बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि विजेता टोलीका प्रशिक्षक
– नेपाली महिला युथ टिमले दोस्रो पटक उपाधि जित्दाको मुख्य प्रशिक्षक
– साफ यू–१७ महिला टिमका प्रशिक्षक । नेपाल चौथो स्थान सफल ।
भरत शाह (भलिबल)
– काभा सेन्ट्रल जोन बीच भलिबलमा दुई रजत जित्दाका प्रशिक्षक
– उनको प्रशिक्षणमा नेपालको महिला र पुरुष टिमले रजत जितेको थियो ।
चन्द्र गुरुङ (एथलेटिक्स)
– १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णसहित ऐतिहासिक पदक दिलाउने प्रशिक्षक । सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य
–बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा नेपाल एक स्वर्ण र दुई कांस्य जित्दाका प्रशिक्षक
जगत टमाटा (क्रिकेट)
– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई आठ वर्षपछि छनोट गराउन सफल प्रशिक्षक
– यूएईलाई उसकै भूमिमा अन्तिम खेलमा पराजित गरी एसिया छनोट जित्दै नेपाल विश्वकपमा पुग्न सफल
मोन्टी देशाई (क्रिकेट)
– नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल प्रशिक्षक
– विश्वकप लिग २ को अन्तिम १२ मध्ये ९ खेल जिताएर नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल ।
– विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै सोझे विश्वकप छनोट हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन सफल ।
ओङ्देन लामा (पौडी)
– नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबले सर्वाधिक २० स्वर्ण जित्दाका प्रशिक्षक
– नवौं राष्ट्रियमा आर्मी २० स्वर्ण, ९ रजत सात कांस्यसहित ३६ पदक जित्न सफल । डुवाना लामा ९ र नासिर याहा हुसेन सात स्वर्ण जित्न सफल










