क्यानडाविरूद्धको एक दिवसीय क्रिकेट सिरिज नेपाललाई, दोश्रो खेलमा नेपाल ४ विकेटले विजयी
थानकोट ।
काठमाडाैंमा जारी द्वि-देशीय एक दिवसीय क्रिकेटको सिरिज नेपालले जितेको छ ।
शनिबार सम्पन्न सिरिजको दोश्रो खेल ४ विकेटले जित्दै नेपालले तेस्रो तथा अन्तिम खेल अगावै सिरिजमा २-० को अग्रता लिएसँगै उपाधि आफ्नो पक्षमा पारेको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएपछि नेपालले जितका लागि २८६ रनको लक्ष्य पाएको थियो । नेपालले सो लक्ष्य ४५.१ ओभरमा पूरा गर्यो ।
क्यानडाका लागि आरोन जोनसजले अर्धशतकीय पारी खेल्दै ६५ रन बनाउँदै बाहिरिए भने नवनित दालिवाले ले ४६ रनको योगदान दिए ।
क्यानडाका लागि प्रगत सिंहले ३८ रनको योगदान दिए । नेपालका लागि कप्तान रोहित पाैडेल र कुशल मल्लले समान २ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए । सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन् ।
जवाफी ब्याटिङ गरेको नेपालले अनिल शाह ले ५०, रोहित पाैडेलले ८७, देव खनालले ७६ रनको योगदान दिए । सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।













