क्यानाडाविरुद्ध नेपालको शानदार जित, सिरिजमा क्लीन स्वीप
थानकोट ।
ब्याटर अनिल साह र भीम सार्कीले शतकीय पारी खेलेपछि नेपालले क्यानाडाविरुद्ध ९ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा भेट्टायो ।
नेपालका लागि अनिल साहले १ सय २४ बलमा नटआउट १ सय १२ रन बनाए । उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यस्तै भीम सार्की पनि १ सय २९ बलमा १ सय १ रन बनाउँदै नटआउट रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । क्यानाडाका लागि नवनित धलिवालले ५० र निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी साद बिन जफारले ३१ र हर्ष ठाकेरले २९ रनको योगदान गरे ।
आजको खेलबाट डेब्यु गरेका हेमन्त धामी एक्लैले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिएका थिए ।













