श्रीपञ्चमीका अवसरमा थानकोटस्थित मंगलोदय माविको बाल विकास कक्षामा नाम दर्ता गर्न अपूर्व भीड

Thankot Times

थानकोट ।

आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा ।

यस दिन विद्याकी देवी सरस्वतीको महिमा गाउँदै विद्यार्थी, संगीत साधक, साहित्यकार, कलाकार, पत्रकार र शिक्षकहरूले आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

आजको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन भएकाले अभिभावकहरु बालबालिकालाई लिएर मन्दिर पुगेका छन् । बालबालिकाले मन्दिरका भित्ता र वरपर चकले लेखेर अक्षरारम्भ गरेका छन् ।

आजकाे दिन विद्यालय र कलेजहरुमा सरस्वतीको पूजा गर्ने प्रचलन पनि छ भने बाल विकास कक्षामा नयाँ भर्नाका लागि सरकारी तथा संस्थागत विद्यालयहरूमा भीड लागेको छ ।

यसैबीच चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित मंगलोदय माविमा आज बाल विकास कक्षामा नाम दर्ता गर्न अभिभावकहरूको व्यापक भीड लागेको छ । विद्यालयका प्रधानाध्यापक कविन्द्र गोपालीका अनुसार अपरान्ह १ बजेसम्म ८० जनाले बाल विकास कक्षामा नयाँ भर्नाका लागि नाम दर्ता गराएका छन् ।

गतवर्ष सरस्वती पूजाका दिन सो विद्यालयमा ६५ जनाभन्दा धेरैले बाल विकास कक्षामा नयाँ भर्नाका लागि नाम दर्ता गराएका थिए । 

अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयको कक्षा १० सम्म हाल १ हजार ५ सय भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालयमा भर्ना हुनका लागि कक्षा ६ देखी १० सम्म विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *