आईसिसी क्रिकेट विश्वकप लिग-२ को पहिलो खेलमा नामिबियासँग नेपाल ४ विकेटले स्तब्ध
थानकोट ।
बिहीबारबाट सुरु भएको आईसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३ ओभरमा भेट्टायो ।
बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिए ।
नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट हुँदा कुशल मल्लले १५ रन बनाए । सोमपाल कामी २ रनमा आउट भए । गुलसन झाले २१ रन बनाउँदा पवन सर्राफ १२ रनमा पभेलिएन फर्किए । करण केसी १६ रन बनाएर आउट हुँदा ललितराज वंशी शून्य रनमा नटआउट रहे ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका गिर्हाड इरासमुस एक्लैले ५ विकेट लिए ।
नेपालले आफ्नो दोस्रो खेलमा शनिबार त्रिवि मैदानमै नेदरल्याण्डसँग खेल्नेछ ।













