सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः सेमिफाइनल समीकरण पूरा
थानकोट ।
प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएको छ।
प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुल साँगाले नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) लाई १-० गोल अन्तरले पराजित गर्याे । नेपाल पुलिस स्कुलका तर्फबाट प्रशान्त मोक्तानले गोल गरेका थिए ।
आजै सम्पन्न दिनको दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरले लेबोरेटरी माध्यामिक विद्यालय कीर्तिपुरलाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्याे ।
सैनिक आवासीय महाविद्यालय तर्फबाट डिगविजय शाही र रोहित श्रेष्ठले ह्याट्रिक पूरा गर्दा सन्दिप शर्माले १ गोल गरेका थिए । खेलमा १ गोल आत्मघाती भएको थियो ।
बिहीबार नै सम्पन्न नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) र नेपालय ईङ्गलिस पब्लिक स्कुल, जोरपाटीविच भएको तेस्रो क्वाटरफाईनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर क टिम ६-० फराकिलो गोल अन्तरले विजयी भयाे ।
नेपाल एपीएफ स्कुलको तर्फबाट तेन्जिङ्ग शेर्पा, विवेक पश्चिमा थारु र रोहित गोलेले समान २-२ गोल गरेका थिए ।
आज भएको खेलहरुमा नेपाल पुलीस स्कुल साँगा, सैनिक आवासीय महाविद्यालय सल्लाघारी र नेपाल एपीएफ स्कुल कीर्तिपुर क टिमका खेलाडीहरु निश्चल मगर, रोहित श्रेष्ठ, दिपेश गुरुङ्गलाई म्यान अफ द म्याच घोषित भए । उत्कृष्ट घोषित खेलाडीहरुलाई विद्यालय प्रधानाचार्य युवराज पराजुली, समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई र अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक राजकुमार प्याकुरेलले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत फागुन ५ गते शनिबार हुने सेमीफाइनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) विरुद्ध मनकामना सेकेण्डरी स्कुल जोरपाटी र नेपाल पुलीस स्कुल साँगा विरुद्ध सैनिक आवासीय महाविद्यालय सल्लाघारी बीच प्रतिस्पर्धा हुनेछ ।













