विश्वकप क्रिकेट लिग-२ः नेदरल्याण्ड्समाथि नामिबिया २४ रनले विजयी
थानकोट ।
काठमाडाैंमा जारी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्याण्ड्समाथि शानदार जित हासिल गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको हो ।
नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्ड्स ४३.५ ओभरमा अल आउट हुँदै १७९ रन मात्र बनाए पछि खेल २४ रनले हारेको हो ।
टियु मैदानमा लिग-२ को यस सिरिजमा पहिला ब्याटिंङ गरेर जित हासिल गर्ने नामिबिया पहिलो देश बनेको छ । यस अघि जारी लिगका सबै खेलमा पहिला ब्याटिङ गर्ने देशले हार बेहोरेका थिए ।
खेलमा टस हारेर पहिला ब्याटिंङ गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुँदै २०३ रन बनाएको थियो ।
यो नामिबियाको लिग-२ को यस सिरिजमा चौथो खेलमा तेस्रो जित हो । ४ खेलमा ३ जितसहित नामिबियाको ६ अंक भएको छ र लिग-२ को पहिलो सिरिज पनि जितेको छ ।
त्यसैगरी नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।
अब यस सिरिजको अन्तिम खेलमा आइतबार नेदरल्याण्ड्सले नेपालको सामना गर्दैछ ।













