विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र नेदरल्याण्डसबीच खेल हुने
थानकोट ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो सिरिजको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने तालिका रहेको छ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः३० बजेदेखि शुरु हुनेछ ।
जारी सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग-२ को पहिलो सिरिज पनि जितेको छ ।
त्यसैगरी नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।
नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार एकदिवसीय खेल भएका छन् ।
जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।













