त्रिदेशीय टी-२० सिरिजः नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई २ रनले पराजित गरेको छ ।

नेदरल्याण्ड्सले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएपछि खेलको नतिजा डच टोलीको पक्षमा पुगेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । कप्तान रोहितले ३६ बलमा ५० रन बनाएर आउट भएका थिए भने २८ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ६३ रन बनाएर आउट भएका थिए । त्यसैगरी आसिफ सेखले ३४ रन बनाए भने कुशल मल्लले ११ र करण केसीले ११ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए ।

नेपालका लागि करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

जारी सिरिजमा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले हारेको थियो ।

सिरिज अन्तर्गत भोलि बिहीबार नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुने तालिका रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ