ठेकेदार कम्पनीले भुक्तानी नदिएको श्रमिकहरूको आरोप, नागढुङ्गा-मुग्लिन सडक बन्द गर्ने चेतावनी

Thankot Times

थानकोट।

सङ्घीय राजधानी काठमाडाैं जोड्ने लाइफलाइनको रुपमा रहेको नागढुङ्गादेखि मुग्लिनसम्मको धमाधम स्तरोन्नति भइरहेको छ ।

सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति भइरहेको हो ।

नागढुङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ ।

जहाँ एकतर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको छ । नेपाल सरकार र विश्व बैंकको ऋण सहयोगमा रू. १२ अर्बको लगानीमा नागढङ्गा-मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम थालिएको हो । 

सडक विभागको तथ्याङ्क अनुसार पृथ्वी राजमार्ग (नाैबिसे-पोखरा) र त्रिभुवन राजपथ (त्रिपुरेश्वर-हेटाैंडा) हुँदै दैनिक साना ठूला गरी करिब १५ हजार सवारी काठमाडौँ ओहोरदोहोर हुँदै आएका छन् ।


यसैबीच विस्तारित नागढुङ्गा-मुग्लिन सडक खण्डमा खटिएका श्रमिक मजदुरहरूले समयमै भुक्तानी नपाएको गुनासो गरेका छन् ।

सो सडक विस्तार आयोजनाअन्तर्गत नागढुङ्गा-मलेखु सडक खण्डमा कार्यरत श्रमिक मजदुरहरूले निर्माणको जिम्मा पाएको सगुन कन्सट्रक्सनबाट लामो समयदेखि ज्याला रकम (पारिश्रमिक) नपाएको बताएका हुन् ।

उनीहरूका अनुसार करिब २ सय जना मजदुरहरूले विगत ६ महिनादेखी ज्याला पाएका छैनन् ।

आफ्नो ज्याला भुक्तानीका लागि पटक पटक निर्माण जिम्मा पाएको कम्पनीलाई अनुरोध गर्दा ज्याला भुक्तानीमा अटेर गरेपछि उनीहरू आन्दोलनको तयारीमा छन् ।

सवारी चालक समाज धादिङका अध्यक्ष नारायण पन्तले बिहीबार मजदुरहरूले सडक विस्तार एवं स्तरोन्नतिको कार्य ठप्प पार्दै सांकेतिक विरोध गरेको र अब पनि ज्याला रकम भुक्तानीमा अटेर भएमा बैशाख १८ गतेबाट राजमार्ग नै बन्द गरी दबाब दिने बताए ।

समयमै श्रमको मुल्य नपाउँदा घर परिवार चलाउन समेत गाह्रो भएको उनीहरूको तर्क छ ।

-उत्तम कार्की


Leave a Reply

Your email address will not be published. Required fields are marked *