भारतका महालेखा परीक्षक तथा नियन्त्रक मुर्मु चन्द्रागिरिमा
थानकोट ।
भारतका केन्द्रीय महालेखापरीक्षक तथा नियन्त्रक गिरिसचन्द्र मुर्मुले चन्द्रागिरि नगरपालिका कार्यालयकाे भ्रमण गर्नुभएको छ । उहाँलाई चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले बुधबार नगरपालिका कार्यालयमा स्वागत गर्नुभएको थियाे ।
साे क्रममा उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, नगरका विभिन्न समिति संयाेजकहरु, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरकार्यपालिका सदस्यहरु तथा नगरसभा सदस्यहरु एवं नगरका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुकाे उपस्थिति रहेको थियाे ।
नेपालका समकक्षी ताेयम रायाकाे साथमा मुर्मुले चन्द्रागिरि नगरपालिका भ्रमण गर्नुभएको हाे ।
साे क्रममा नेपालका महालेखापरीक्षक कार्यालय वरिष्ठ अधिकृतहरु तथा भारतका महालेखापरीक्षक कार्यालय तथा काठमाडौंस्थित भारतीय दुतावासका कर्मचारीहरुकाे सहभागिता रहेकाे छ ।
भारतीय महालेखा परीक्षकको सम्मानमा चन्द्रागिरि नगरपालिकाले अहिले चन्द्रागिरि हिल्समा विशेष कार्यक्रम आयाेजना गरिरहेको छ ।
कार्यक्रममा नेपालका स्थानीय तह र लेखा व्यवस्थापनसम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदानकाे कार्य जारी रहेकाे छ ।
सुशासन, आर्थिक पारदर्शिता, कोष तथा लेखा नियन्त्रण तथा लेखा परीक्षणका क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको नीति उत्कृष्ट रहेको जनाउँदै भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मुको उच्च प्रतिनिधि मण्डलले चन्द्रागिरि नगरपालिकालाई अवलोकनका लागि छनोट गरी सोबारेमा जानकारी लिएको बताइएको छ ।
कार्यक्रममा भारतीय राजदुत नवीन श्रीवास्तवले समेत सहभागीता जनाउने चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयाे ।
भारतको सो प्रतिनिधिमण्डलमा नियन्त्रक तथा महालेखापरीक्षक मुर्मुसहित निर्देशक रिना अकोइजम, डा. गौरवकुमार र करन बोहरा सहभागी थिए । सो प्रतिनिधिमण्डल मङ्गलबार नेपाल आएको थियो ।










