चन्द्रागिरिमा बिहानीपख भारी वर्षा, कस्ताे रहला दिनभरकाे माैसम ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा आज बिहान भारी वर्षा भएको छ । वर्षापछि यस क्षेत्रमा तापक्रम केही घटेको छ ।

बिहान ६:३० बजे सम्म नगर क्षेत्रकाे आकाश पूर्णतया बदली रहेकाे छ । चन्द्रागिरि, दहचाेक लगायतकाे नगरका उच्च भूभाग हुस्सुले ढाकिएका छन् ।

आज कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोसी प्रदेश र वाग्मती प्रदेशसहित देशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव महाशाखाले जनाएको छ ।

आज राति पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *