साफ यू-१७ च्याम्पियनसिपः भुटानलाई पराजित गर्दै नेपाल सेमीफाइनलमा
थानकोट ।
घरेलु टोली भुटानविरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो ।
जितपछि नेपाल तीन खेलबाट ६ अंक जोडेर समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । दुई जित र एक बराबरीसहित ७ अंक जोडेको पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।
नेपालले अब सेमिफाइनलमा समूह ए को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ए मा भारतले बंगलादेश र माल्दिभ्स दुवैलाई पराजित गरेको थियो ।
नेपालले अब शनिबार भारतसँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
दोश्रो सेमिफाइनल पाकिस्तान र बंगलादेशबीच शनिबार नै हुनेछ ।














