विपद प्रभावित चन्द्रागिरि नगरलाई बागमती प्रदेशले १५ लाख रुपैयाँ सहायता उपलब्ध गराउने

Thankot Times

थानकाेट ।

बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

१०–१३ असोजको भिषण वर्षाका कारण बाढीपहिरोले क्षति पुर्‍याएको ४५ वटा पालिकालाई तीन वटा क्लष्टर बनाएर प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

शनिबार हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उक्त रकम सम्बन्धित पालिकाले राहत वितरणलगायत विपद्को क्षेत्रमा खर्च गर्न सक्ने गरी रकम निकासा गर्न लागिएको हो ।

उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा पठाइने उनले बताए ।

मन्त्रिपरिषद्ले प्रदेश विपद् व्यवस्थापन कोषमा रकम न्यून रहेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय पनि गरेको मन्त्री लामिछानेले जानकारी दिए ।

काठमाडौंका नागार्जुन र चन्द्रागिरि नगरले १५ लाख रुपैयाँ सहायता प्राप्त गर्नेछन् । गत साताको अविरल वर्षापछि पहिरो खस्दा चन्द्रागिरिमा २ जनाको ज्यान गएको थियो भने चन्द्रागिरिका थप २ जना नागरिकको सो विपद् मा परी ज्यान गएको थियो । चन्द्रागिरि नगरमा बाढी, पहिरो, डुबानबाट के कति क्षति भयो सो को विवरण संकलन गर्ने क्रम जारी रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *