नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले पदबाट राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले वाइल्डले गत शनिबार इमेलमार्फत राजीनामा दिएको पुष्टि गरेको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, वाइल्डले शनिबार एन्फालाई राजीनामाको इमेल पठाएका हुन् । “उहाँले राजीनामा पठाइसक्नुभएको छ । इमेलमार्फत पठाउनुभएको रहेछ,” प्रवक्ता शाहले बताए ।

वाइल्डको नेतृत्वमा नेपाली महिला टोलीले तीन खेल खेल्यो । जसमध्ये नेपालले दुईमा जित र एकमा हार बेहोरेको थियो ।

नेपाली महिला टोलीले वाइल्डलाई पहिलोपटक प्रो लाइसेन्स प्रशिक्षकका रूपमा पाएको थियो । तर, उनले उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटपछि एन्फाविरुद्ध असन्तुष्टि जनाएका थिए । उनले एन्फा नसुध्रिएसम्म आफू नेपाल नफर्किने बताएका थिए ।

एन्फाले वाइल्डलाई गत जेठ २२ गते एक वर्षका लागि मुख्य प्रशिक्षण नियुक्त गरेको थियो ।

उनी टोलीको कप्तान परिवर्तन विवादमा पनि तानिएका थिए । छनोट खेल सकेर फर्किएपछि टोलीकी ‘हेड अफ डेलिगेसन’ तथा एन्फा कार्यसमिति सदस्य शरिला श्रेष्ठ र टिम व्यवस्थापक बिन्दा देवानसहितको अफिसियल टोलीले पत्रकार सम्मेलनमार्फत कप्तान परिवर्तन विवादको दोष वाइल्डमाथि थोपरेका थिए । पत्रकार सम्मेलनमा टेक्निकल डाइरेक्टर हरि खड्कासहित उज्वेकिस्तान गएका सबै अफिसियल उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *