लुम्बिनी प्रदेशमा एक मन्त्री थपिए
थानकोट ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरेका छन् । आचार्यले पाण्डेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री पाण्डेको पद तथा गोपनीयताको शपथ सोमबार दिउँसो ३ बजे हुने तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
पाण्डे मन्त्री बनेसँगै अब लुम्बिनीको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ।
मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित पाँच जना एमालेबाट, पाँच जना कांग्रेस र जसपाबाट एकजना मन्त्री रहेका छन्।
नवनियुक्त मन्त्री पाण्डे लोसपा संसदीय दलका नेता हुन् । योसँगै उनी लुम्बिनी प्रदेशको तेस्रोपटक मन्त्री बनेका हुन् ।
लुम्बिनीमा लोसपाको तीन सांसद रहेका छन्।












