होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्याे
थानकोट ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि महत्त्वपूर्ण ‘स्ट्रेट अफ हाेर्मुज’ व्यवसायिक जहाजका लागि खुला गर्ने इरानको घोषणाको स्वागत गरेका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै इरानकाे निर्णयकाे स्वागत गरेका हुन् । उनले लेखेका छन्, ‘धन्यवाद, इरानले हाेर्मुजको साँघुरो जलमार्ग पूर्ण रूपमा खुला गरेको छ । यो सबै व्यवसायिक जहाजका लागि खुला भएको छ ।’
यसअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले हाेर्मुजको स्ट्रेट पूर्ण रूपमा खुला गर्ने घोषणा गरेका थिए ।
मस्कोले शुक्रबार इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको समर्थन गरेको छ र १० दिने युद्धविरामले दीर्घकालीन सम्झौताको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँगको भेटमा भने, ‘हामी युद्धविरामको निर्णयको स्वागत गर्दछौँ र आशा गर्दछौँ कि यी केही दिनहरूमा सैन्य भिडन्तहरू दोहोरिन नदिन सम्झौतामा पुग्न सम्भव हुनेछ ।’
युद्धविराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ । फ्रान्स, बेलायत, भारत, चीन, अमेरिकालगायत विश्व शक्ति राष्ट्रका नेताहरूले पनि सहमतिको लागि खुशी व्यक्त गरेका छन् ।












