पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन उनेपाका अध्यक्ष कुलमान घिसिङको माग

Thankot Times

थानकोट ।

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्यवृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताए ।

‘कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्यवृद्धि गर्नु हुँदैन’, उनले भने, ‘नजिकको छिमेकी देश भारतले पनि इन्धनमा मूल्यवृद्धि नगरेको भन्दै यसमा सरकारले नागरिकमाथि मूल्यवृद्धिको भार घटाउनुपर्छ र स्तरीकरण गर्न सक्नुपर्छ ।’

दुईतिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने अध्यक्ष घिसिङले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा र सरकारमा रहँदा कर्णालीको विद्युतीकरणमा र ‘ट्रान्समिसन लाइन’का लागि करिब ३५ अर्ब लगानी सुनिश्चित गरिएको उनले जिकिर गरे ।

उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म भइरहेको छ । छोटो समयमै पार्टी गठनले त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै चुनावमा जानुपर्ने बाध्यता भएकाले हार व्यहोर्नु परेतापनि अबको चुनावमा उनेपा ठूलो पार्टी भएर आउने र वडा तहसम्म संगठन विस्तार गर्ने उनको भनाइ थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *