रोल्पामा जिप दुर्घटना, रास्वपाले भन्यो- यो पीडादायी घटनाले स्तब्ध र मर्माहत बनाएको छ

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पामा जिप दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । जिप दुर्घटना भएको तीन दिनपछि पार्टी प्रवक्ता मनिष झाले प्रेस विज्ञप्ति जारी गरेर उक्त घटनाले स्तब्ध र मर्माहत बनाएका बताएका छन् ।

‘एकैपटक यति धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ । यस असह्य क्षणमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

प्रेस विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टी

मिति २०८३ -१-१७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति राष्ट्रिय स्वतन्त्र पार्टी गहिरो दुःखका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । एकैपटक यति धेरै मानवीय क्षति भएको यो पीडादायी घटनाले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ । यस असह्य क्षणमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

प्राप्त विवरणअनुसार लु १ ज ४१६७ नम्बरको जीप रोल्पा जिल्लाको थवाङ गाउँपालिका–१ को भिरालो क्षेत्रमा दुर्घटनामा परेको हो । करिब ७००–८०० मिटर गहिरो भिरमा खसेको उक्त दुर्घटनाले अपूरणीय क्षति पुर्‍याएको छ । विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद सुरक्षा निकाय तथा उद्धार टोलीहरूले देखाएको साहस, समर्पण र मानवीयताको हामी उच्च सम्मान गर्दछौँ ।

यस दुःखद घटनाले फेरि एकपटक हाम्रो सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ । यस्ता दुर्घटनाहरू  तथ्यांक  मात्रै होइनन् यी हाम्रा नागरिकको जीवनसँग जोडिएका संवेदनशील वास्तविकता हुन् भन्ने मा हामी सचेत छौ । यस्तो घटनाले परिवार र समुदायलाई दीर्घकालीन पीडामा छोड्छ भन्नेमा हाम्रो चासो छ हामी यसमा तपाइहरुसँग हुनेछौ ।

आगामी दिनमा यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन सवारी साधन दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडा कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकासमा हामी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रभावकारी र जिम्मेवार कदम चाल्नु अपरिहार्य रहेकोमा हामी स्पष्ट  छौ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *