समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

Thankot Times

थानकोट ।

सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम आउँदो जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ ।

यही वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको विवरण संकलन गरी रकम फिर्ताको तयारी गरेको हो ।

समितिका अनुसार, समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्नेछ । तीमध्ये अधिकांश साना बचतकर्ता छन् । यसमध्ये पाँच लाख रुपैयाँभन्दा बढी रकम बचत गर्ने १८ हजार बचतकर्ता रहेका समितिले जनाएको छ ।

पाँच लाखभन्दा कम रकमका बचतकर्तालाई साना र यसभन्दा बढीलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका निम्ति धेरै काम भइसकेको बताइन् । अब बचत फिर्ता गर्ने कार्य थालिने उनले जानकारी दिइन् ।

“यसमा धेरै काम गरिसकेका छौँ । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौं,” मन्त्री रावलले भनिन् ।

समितिले आफ्नो कार्यविधि तय गर्दै बचत फिर्ता कार्य आरम्भ र कर्जा असुलीमा प्राथमिकता दिने नीति अवलम्बन गरिने जनाएको छ ।

समितिले मागदाबी गरेका बचतकर्ताको रकम फिर्ता गर्ने कार्य आउँदो जेठको पहिलो सातादेखि थाल्नेछ ।

छुट भएका बचतकर्तालाई पुनः मागदाबी गर्ने समय साउनको पहिलो हप्ता खुला गरिने समितिले जनाएको छ ।

यसक्रममा नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग भएमा सापटीका रूपमा मात्र खर्च गरिने जनाइएको छ ।

समितिका सदस्यसचिव रविन ढकालले कर्जा असुलीका निम्ति आफूहरूले कानुनबमोजिम कठोर नीति अवलम्बन गर्ने जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *