वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँचजना पक्राउ
थानकोट ।
आकर्षक तलबमा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोला गाउँपालिका-३ घर भएका २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय निरबहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-२ घर भएका ३९ वर्षीय विजयकुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने ३७ वर्षीय चिरन्जिवी अधिकारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने रामेछाप लिखु तामाकोसी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रवेश गुरूङ रहेका प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकामध्ये सन्दीपले माल्टा पठाइदिन्छु भन्दै एकजना पीडितबाट १२ लाख रूपैयाँ, निरबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै आठजना पीडितहरूबाट २ लाख २५ हजार रूपैयाँ ठगी गरेको आरोप छ ।
त्यस्तै, विजयकुमारले कतार पठाइदिन्छु भन्दै एकजना पीडितबाट २ लाख २० हजार रूपैयाँ, चिरन्जीवीले क्यानडा पठाइदिन्छु भन्दै तीनजना पीडितबाट ३० लाख रूपैयाँ र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै एकजना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।










