चन्द्रागिरि नगरक्षेत्रमा २ वटा प्रहरी कार्यालय भाडाको घरमा

Thankot Times

थानकोट ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार देशभर २ हजार ६६० प्रहरी कार्यालय छन् ।

ती मध्ये १ हजार ७४१ प्रहरी कार्यालयको मात्रै आफ्नै भवन छ । बाँकी ६६३ प्रहरी कार्यालय भने भाडामा र आश्रय लिएर बसेका छन् ।

यसका साथै जग्गादेखि ब्यारेक, मेस र ट्वाइलेटसम्मको समस्या प्रहरीमा छ । आफ्नै शौचालय नहुँदा छिमेकीकोमा जानुपर्नेदेखि त्रिपाल बेरेर शौच गर्नुपर्नेसम्मको समस्या ग्रामीण क्षेत्रका प्रहरी युनिटले भोगिरहेका छन् ।

प्रहरी प्रधान कार्यालयकै तथ्यांकअनुसार ७८५ प्रहरी कार्यालयमा आफ्नै शौचालय छैन्।

उनीहरू छिमेकीको शौचालयमा जानुपर्ने अवस्थादेखि त्रिपाल बेरेर शौच गर्न बाध्य छन् । सेनाले निरन्तर बंकर टु ब्यारेक अभियान चलाएर भवन निर्माणमा निरन्तरता दिँदा प्रहरी भने चुहिने जस्ताको टहरामा बस्नुपर्ने अवस्था रहेको गुनासो प्रहरीभित्रै हुने गरेको छ ।

यसका साथै ८३३ प्रहरी कार्यालयमा अहिलेसम्म ब्यारेक छैन् । २४सै घण्टामा ड्युटीमा खट्नुपर्ने प्रहरी ब्यारेक नहुँदा बस्न समेत समस्या हुने गरेको छ । अर्कोतर्फ ८१० प्रहरी कार्यालयमा मेस समेत नरहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

भौतिक पूर्वाधारका अभावमा प्रहरीलाई काम गर्न कठिन भएको भन्दै  प्रहरी प्रधान कार्यालयले बजेटका लागि पटक–पटक गृह मन्त्रालयलाई पत्राचार गर्दै आएको छ । तर, गृहले चासो दिएको छैन । प्रहरीले गुणस्तरीय पोसाकसमेत लगाउन पाएका छैनन् । हेडर्क्वाटरले दिने पोसाक केही महिनामै फाट्ने भएकाले प्रहरीहरू आफ्नै तलबबाट पोसाक खरिद गरेर लगाउनुपर्ने बाध्यतामा छन् ।

काठमाडाैं उपत्यका प्रहरी कार्यालय मातहतकै प्रहरी कार्यालयहरू समेत भाडामा सञ्चालनमा छन् ।

उपत्यकाका ११ वटा प्रहरी युनिट भाडाको घरमा सञ्चालनमा छन् । ट्राफिक प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभागहरू क्रमश: ब्यासी, सिरुटार, चाल्नाखेल, मच्छेगाउँ, मातातीर्थ, हात्तीगौँडा, भीमढुंगा, स्यूचाटार र वडा प्रहरी कार्यालय लगनखेल भाडाको घरमा सञ्चालनमा छन् ।

ट्राफिक प्रहरी प्रभाग थानकोटले केही महिनादेखि प्रहरी वृत्त थानकोटकै एक टहराबाट जसो तसो सेवा दिइरहेको छ । सो अघि प्रभाग भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।

चन्द्रागिरि नगरपालिका क्षेत्रमा प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी प्रभाग नैकापले आफ्नै भवनबाट सेवा दिइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *