तातो कफीबाट घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाखभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउन आदेश
थानकोट ।
अन्तर्राष्ट्रिय उडानका क्रममा विमानभित्र दिइएको तातो कफीका कारण गम्भीर रूपमा घाइते भएकी नेपाली यात्रुको पक्षमा उपभोक्ता अदालतले फैसला सुनाउँदै कतार एयरवेजलाई २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।
उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्ट तथा सदस्य गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेल सम्मिलित इजलासले ललितपुर निवासी प्रीति थापाको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो निर्णय गरेको अदालतका सूचना अधिकारी होमनाथ कँडेलले जानकारी दिए ।
अदालतले पीडितले भोगेको शारीरिक पीडा, मानसिक असर तथा उपचार प्रक्रियालाई आधार मान्दै अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र प्रचलित राष्ट्रिय कानुन दुवैको सन्दर्भमा क्षतिपूर्ति निर्धारण गरेको जनाएको छ।
घटनाअनुसार सन् २०२३ जुलाई १० मा कतार एयरवेजमार्फत अमेरिकाको बोस्टनबाट काठमाडौँ फर्किने क्रममा विमानका कर्मचारीले उपलब्ध गराएको अत्यधिक तातो कफी प्रीति थापामाथि पोखिएको थियो। उक्त कफी पेट, तिघ्रा तथा संवेदनशील अंगमा परेपछि उनी गम्भीर रूपमा जलेकी थिइन्।










