आज बुधबारको मौसम कस्तो रहला ? यस्तो छ विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज हावाहुरीको सम्भावना छ । केही -भूभागमा वर्षाको सम्भावना रहँदा केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो ।

कोसीदेखि गण्डकी प्रदेशसम्म हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानमा अपराह्नपछि  हावाहुरीको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी प्रदेशको  हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

वाग्मती र गण्डकी प्रदेशका तराईका भू-भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना छ ।

विभागले राति मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भू-भागका केही स्थानमा  हावाहुरीको सम्भावना रहेको बताएको छ ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।

कोसी, पाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले प्रस्ट पारेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *