६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदमा ११३ जनाको आवेदन
थानकोट ।
विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका निम्ति ११३ जनाले आवेदन दिएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको ‘प्रतिष्ठानका उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालय’ले सोमबार (जेठ १८) सूचना जारी गर्दै ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका निम्ति प्राप्त आवेदनको विवरण सार्वजनिक गरेको हो ।
यसमा सबैभन्दा बढी आवेदन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निम्ति परेको छ । उक्त प्रतिष्ठानको उपकुलपति पदका लागि २६ जनाले आवेदन दिएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निम्ति २४, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निम्ति १७, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जनाले आवेदन दिएका छन् ।
सबैभन्दा कम आवेदन जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका निम्ति परेको छ । उक्त प्रतिष्ठानका लागि ११ जनाले मात्र आवेदन दिएका छन् ।
प्राप्त आवेदनको अध्ययन, मूल्यांकन र छानबिनपछि योग्य उमेदवारहरूको नाम सरकारसमक्ष सिफारिस गरिने सचिवालयले जनाएको छ ।












