यस्तो छ आज मंगलबार दिनभरको मौसम पूर्वानुमान
थानकोट ।
देशका केही स्थानमा वर्षा हुनेछ ।
केही भू-भागमा गर्मी हुनेछ । वर्षा कम भएसँगै तराईका केही स्थानमा तातो दिन हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ ।
विभागले दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेस प्रदेशमा तथा कोसी प्रदेशको तराईमा तातो दिन हुने पूर्वानुमान छ ।
विभागका अनुसार राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।
कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
मौसमविद् विनोद पोखरेल मनसुन भित्रने समय अझै अनिश्चित रहेको बताउँछन् । पश्चिमी वायु कमजोर रहेकाले केही दिन देशका धेरै स्थानमा वर्षा नहुने उनको भनाइ छ ।
“पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षाको सम्भावना भए पनि तराईमा पानी पर्ने देखिँदैन,” उनी भन्न्छन्, “मनसुन दक्षिण भारत (केरला)सम्म पनि आइपुगेको छैन ।”
नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो । तर, यो औसत मिति भएकाले यो भन्दाअगाडि वा पछाडि पनि मनसुन भित्रिने सम्भावना रहन्छ । भारतमा जति चाँडो मनसुन प्रवेश हुन्छ, त्यति नै छिटो नेपाल आउने सम्भावना रहन्छ ।












