साफ च्याम्पियनसिप: सेमिफाइनलमै रोकियो नेपाल यात्रा
थानकोट ।
अन्तिम समयमा सम्हालिन नसक्दा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
बुधबार भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा अग्रतालाई जोगाउन नसक्दा नेपाल निरास बनेको हो ।
खेलेको २३औँ मिनेटमा नेपालले अग्रता लिएको थियो । दीपा शाहीको कर्नरमा बनेको मुभमा गीता रानाले बललाई जाली चुमाएकी थिइन् ।
पहिलो हाफको इन्जुरी समयमा रितु पोर्ना चक्माले बंगलदेशका लागि बराबरी गोल फर्काइन् । उनको कर्नर प्रहार सिधै गोलमा परिणत भएको थियो ।
खेलको इन्जुरी समयमा सागोरिकाको गोलमार्फत बंगलादेशले २–१ को अग्रता लिएको थियो । उनले शामसुन्नाहरको क्रसलाई जाली चुमाइन् ।
दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । दीपाकै कर्नरमा ३४औँ मिनेटमा रश्मीकुमारी घिसिङको हेडरलाई बंगलादेशकी गोलकिपर मिली अख्तरले सहजै नियन्त्रणमा लिइन् ।
नेपालले खेलको ३६औँ मिनेटमा अग्रता दोब्बर गर्ने अवसर गुमायो । प्रीति राईको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।
सरु लिम्बूको प्रहार क्रस बार नजिकैबाट बाहिरिँदा ६९औँ मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो ।
कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले ७९औँ मिनेटमा उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारिन् ।
साफ च्याम्पियनसिपको इतिहासमा नेपाल दोस्रोपटक फाइनलमा नदेखिने भएको हो । यसअघि टोली सन् २०१६ मा पनि फाइनल पुग्न सकेको थिएन ।
पछिल्ला दुई संस्करणको च्याम्पियन बंगलादेश भने लगातार तेस्रो तथा समग्रमा चौथोपटक फाइनल प्रवेश गरेको हो ।
अब बंगलादेशले उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।












