एसीसी महिला प्रिमियर कपः नेपालको यात्रा क्वाटरफाइनल चरणमै रोकियो
थानकोट ।
नेपाली महिला क्रिकेट टोली जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनल चरणबाटै बाहिरिएको छ ।
हारसँगै नेपाल महिला एसिया कपमा छनोट हुनबाट समेत वञ्चित भएको छ ।
एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन नसकेको हो ।
आज बिहान मलेसियाको वायुमास ओभलमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।
थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि रुबिना क्षेत्रीले अविजित २० रन बनाइन् भने सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अविजित ६३ रन बनाइन् ।
फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन जोडिन्।












