भोलि असार १ गते सोमबारे औंसी, पर्व स्नान दानादिका निमित्त शुभ र सर्वश्रेष्ठ दिन
थानकोट ।
यदि सोमबारको दिन अमावस्या अर्थात् औंसी पर्दछ भने त्यसलाई सोमबारे औंसी भनिन्छ। प्रत्येक महिनामा एउटा औंसी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमवार, तर औंसी र सोमबारको संयोग यदाकद मात्र हुन्छ।
यो दिन स्नान, दान र श्राद्ध एवं व्रत गर्नुको उच्च महत्व रहेको मानिन्छ । वर्षभरिमा एकपटक वा कहिलेकांही दुईपटकसम्म सोमवती अमावस्या अर्थात् सोमबारे औंसी पर्दछ।
यो पर्व स्नान, दानादिका निमित्त शुभ र सर्वश्रेष्ठ मानिन्छ।
यस पर्वमा स्नान गर्न विभिन्न तीर्थस्थलमा टाढाटाढाबाट भक्तजन धाएर जाने गर्दछन्।
सोमबारे औंसीमा विहानै स्नान गरेर ब्रम्हदेव तथा माता गायत्रीको पूजा गरिन्छ ।गाइ, सुन, छाता, वस्त्र, पलङ, ऐना इत्यादि चिजको दान गर्नु राम्रो मानिन्छ । चन्द्रमालाई मनको स्वामी मानिन्छ र औंशीमा चन्द्रदर्शन गर्न सकिँदैन ।यसलेगर्दा मनस्थिति कमजोर हुन्छ । यो दिन ब्रत गर्दा मन सम्हालिने विश्वास पनि गरिन्छ । धर्म शास्त्र अनुसार मौनी औंशीमा मौन रहेर ऋषि मुनी जस्तै ब्यवहार गर्नु पर्ने उल्लेख छ । मौनी औंशीमा बोल्नु र कुनै निर्णय गर्नु अघि खुव विचार गर्नुपर्छ ।
औंसीमा चन्द्रमा नदेखिने हुँदा शरीरमा एक प्रकारको असन्तुलत पैदा भएको यो समयमा सही निर्णय हुन नसक्ने समेत विश्वास गरिन्छ । सके सम्म मौन बस्नु उत्तम मानिएका कारण नै यो दिनलाई मौनी औंशी भनिएको छ । हाम्रो सनातन धर्मका धार्मिक ग्रन्थहरूमा सोमबारका दिन अमावस्या तिथिको प्राप्ति ठूलो संयोग र भाग्यले मात्र प्राप्त हुन्छ, महाभारतका विशिष्ट पात्र पाण्डवहरूले आफ्ना समस्त जीवनकालमा सोमवती अमावस्या प्राप्त गर्न नसकेको प्रसँग उल्लेखनीय छ।
निर्णयसिन्धु ग्रन्थमा महर्षि व्यासका वचनानुसार यो दिन मौन रहेर स्नान-ध्यान गर्नाले हज्जारौं गोदान गरेको पुण्य फल प्राप्त हुन्छ।यो स्त्रीका लागि विशेष महत्वपूर्ण मानिन्छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतिक र सूर्य मस्तिष्कको प्रतिक पनि हो। प्रत्येक औंसी एउटै बिन्दुमा एउटा सीधा रेखामा सूर्य तथा चन्द्रमा देखिने अवस्था हो। उता सोमबार भगवान् शिवजीको दिन पनि मानिन्छ र सोमवती अमावस्याका सम्पूर्ण कृत्यहरू भगवान् शिवजीलाई समर्पण गर्नुपर्दछ।
यो दिन गङ्गादि तीर्थस्थलमा पुग्न नसक्दा बिहानै उठेर कुनै निकटवर्ती नदी वा तलाउ सरोवर आदिमा स्नान गरेर भगवान् शङ्कर, पार्वती र तुलसीको भक्तिपूर्वक पूजा गर्नु पर्दछ।
त्यसपछि पीपलको रुखको १०८ परिक्रमा गर्नु पर्दछ र प्रत्येक परिक्रमा पूर्णहुँदा कुनै एउटा वस्तु चढाउनु पर्दछ।
प्रदक्षिणा गर्दा १०८ वटा फलादि वस्तु छुट्टै राखी समापनका अवसरमा ती सम्पूर्ण वस्तुहरू ब्राह्मण र निर्धनहरूलाई दान गर्नु पर्दछ। मौनी औंशीमा तिलको ठूलो महत्व छ ।
भगवान बिष्णुलाई सेतो तिल चढाउँदा शुभ फल पाइने विश्वास छ । त्यसैगरी मौनी औंशीमा वस्त्र दान पनि महत्वपूर्ण मानिएको छ । उनी वस्त्र दानले मनको इच्छा पुरा हुने फल प्राप्त हुने विश्वास छ ।












