चन्द्रागिरिसहित विभिन्न स्थानका कृषि फार्ममा खाडल खनेर लागुऔषध लुकाइएको तथ्य फेला
थानकोट ।
कृषि फार्म हाउस सञ्चालनको आवरणमा लागुऔषध कारोबारमा संलग्न १३ जना पक्राउ परेका छन्।
प्रहरीले ट्रामाडोलको अवैध कारोबारमा संलग्न १३ जनालाई ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार काठमाडौँको टोखा र चन्द्रागिरि क्षेत्रमा कृषि फार्म हाउस सञ्चालन गर्दै आएका व्यक्तिहरूले भारतबाट लागूऔषध ल्याई फार्महाउस परिसरभित्र खाडल खनेर लुकाई राख्ने र मागअनुसार बजारमा बिक्री गर्ने गरेको पाइएको हो।
प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार ब्युरोले २७ देखि ३१ असारसम्म निगरानी तथा कारबाहीका क्रममा विभिन्न जिल्लाका १३ जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा नुवाकोट, रूपन्देही, भक्तपुर, सिन्धुली, कालीकोट, बाजुरा, बारा, पर्सा र काठमाडौंका बासिन्दा छन्।
प्रहरीले उनीहरूको साथबाट दुई लाख नौ हजार क्याप्सुल ट्रामाडोल, दुई हजार चार सय एम्पुल बुप्रेनोर्फिन, डाइजोपाम र फेनारगन बरामद गरेको छ।
त्यसैगरी नगद सात लाख ८७ हजार पाँच सय रुपैयाँ र विभिन्न कम्पनीका २८ थान मोबाइलसमेत बरामद गरिएको प्रवक्ता रेग्मीले जनाएका छन्।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।










