फिफा विश्वकप फुटबल २०२६: कंगोको ऐतिहासिक गोल, क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी
थानकोट ।
विश्वकपमा पोर्चुगल र कंगोको खेल बराबरीमा सकिएको छ ।
अमेरिकामा भएको खेल १-१ को बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा पोर्चुगलका लागि जोआओ नेभ्सले गोल गरे । पेड्रो नेटोको पासमा उनले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम समयमा डीआर कंगोका योआन विनेसाले आर्थर मोसाकाओको पासलाई हेरडरमार्फत उत्कृष्ट गोल गर्दै ५२ वर्षपछि विश्वकपमा कंगोको पहिलो गोलको रेकर्ड बनाए ।
खेलको ५५ औँ मिनेटमा पोर्चुगलका जुआओ क्यान्सेलेको सुन्दर एक्रोब्याटिक सटले जाली चुमेको थियो । रेफ्रीले अफसाइड संकेत गरेपछि त्यो गोलमा परिणत भएन ।
विश्वकपमा २३ औँ पटक सहभागी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आजको खेलमा गोल गर्न सकेनन् । खेल बराबरीमा टुंगिएसँगै उनीहरूले १-१ अंक बाँडेका छन् ।
विश्वकप अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी भएको छ ।
अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड ४-२ ले विजयी भएको हो ।
इंग्ल्याण्डका लागि कप्तान ह्यारि केनले सर्वाधिक दुई गोल गरे ।
खेलको पहिलो हाफको १० मिनेटमा उनले पेनाल्टी प्रहार गर्दै गोल गरे ।
क्रोएसियाका कप्तान लुका मोड्रिचले फाउल गरेपछि केनले पेनाल्टी प्रहारको मौका पाएका थिए ।
उक्त मौकालाई उनले गोलमा परिणत गरेका हुन्। केन विश्वकपमा पेनाल्टीमार्फत सर्वाधिक पाँच गोल गर्ने खेलाडी बनेका छन् ।
प्रतियोगिता अन्तर्गत केहीबेर अघि सकिएको खेलमा घानाले पनामाविरुद्ध रोमाञ्चक जित हात पारेको छ । खेलको ९४ मिनेटमा घानाले १ गोल गर्दै खेल १-० ले जितेको हो ।
विश्वकप अन्तर्गत अहिले पाैने ८ बजे उज्वेकिस्तान र कोलम्बियाबीच खेल हुँदैछ ।
तस्बिरः फिफा










