फिफा विश्वकप फुटबल २०२६: आयोजक अमेरिका दोश्रो चरणमा, स्कटल्याण्ड मोरक्कोसँग स्तब्ध

Thankot Times

थानकोट ।

फिफा विश्वकप २०२६मा अमेरिका अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ ।

अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।

अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गर्‍यो । खेल सुरुवाती ११औँ मिनेटमा अस्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता दिलाए । अस्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोल पोस्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त भयो ।

त्यसपछि खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अमेरिकाले अस्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो ।

यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ ।

प्रतियोगिताअन्तर्गत केहिबेर अघि सम्पन्न खेलमा मोरक्को विजयी भएको छ । स्कटल्याण्डविरुद्ध १-० को जित निकाल्दै मोरक्कोले महत्वपूर्ण ३ अंक बटुल्यो ।

खेलमा मोरक्कोका इसामेल सैबरीले गोल गरे । उनले विश्वकपको यस संस्करणमा हालसम्म भएका खेलमा सबैभन्दा छिटो गोल गरेका हुन् । उनले खेलको ७० सकेन्डमा गोल गरेका हुन् ।

इसामेलले यसअघि ब्राजिलसँग भएको खेलमा पनि गोल गरेका थिए । उक्त खेल बराबरीमा रोकिँदा मोरक्कोले एक अंक जोडेको थियो । स्कटल्याण्डसँगको जितसँगै तीन अंक पाउँदा मोरक्कोले तालिकामा चार अंक जोडेको छ ।

मोरक्कोले स्कटल्याण्डको नकआउट चरण प्रवेशलाई धकेलिदिएको छ । उक्त समूहबाट पहिलो खेल स्कटल्याण्डले मात्रै जितेको थियो । स्कटल्याण्डले हाइटीलाई १-० ले हराउँदै तालिकामा तीन अंक जोडेको थियो ।

प्रतियोगिता अन्तर्गत अहिले हाइटी र ब्राजिलबीच खेल भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ