फिफा विश्वकप फुटबल २०२६: हैटीको पोष्टमा ब्राजिलको ३ गोल

Thankot Times

थानकोट ।

फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले पराजित गरेको छ ।

ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो । दोस्रो हाफमा थप गोल हुन सकेन । ब्राजिलका म्याथेस कुन्हाले खेलको २३ औँ मिनेटमा र ३६ मिनेटमा गरी दुई गोल गरे ।

तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे । पिँडुलाका चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेयमारले आजको खेल पनि खेलेनन् । पाँच पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको थियो ।

हैटीलाई हराएसँगै समूह ‘सी’को शीर्ष स्थानमा पुगेको ब्राजिलको दुई खेलमा ४ अंक भएको छ । विश्वकप फुटबलमा अहिले बिहान पौने ९ बजे टर्कीए र पाराग्वेले खेल्दैछन् । त्यस्तै आज राति नेपाली समयअनुसार पौने ११ बजे नेदरल्यान्डस् र स्वीडेनबीच खेल हुनेछ ।

आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई हरायो । मोरक्कोले पहिलो हाफको शुरुआती दुई मिनेटमै गरेको गोल निर्णायक भयो । मोरक्कोका इस्माल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनेटमै गोल गरेका हुन् ।

आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई हराएसँगै मोरक्कोको पनि समूह ‘सी’ मा ४ अंक भएको छ । विश्वकप फुटबलमा आयोजक अमेरिका अष्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ । नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो ।

यसअघि हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ । अमेरिकाको सिएटल स्टेडियममा गएराति सम्पन्न खेलमा अमेरिकाले अष्ट्रेलियालाई २ गोलले हरायो । यो जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *