आज धेरैजसो स्थानमा वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही स्थानमा तातो दिन हुँदा धेरैजसो स्थानमा भने वर्षाको सम्भावना छ ।

मनसुन फैलिने क्रम बढ्दै जाँदा तातो हावाको लहर चल्ने क्षेत्र कम हुँदै र वर्षा हुने भूभाग बढ्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।

मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी प्रदेशका तराई भूभागका थोरै स्थान र मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर चल्नेछ । वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोसी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।

मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा र वाग्मती तथा गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी  भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

हाल कोसी, मधेस र वाग्मती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । अन्य भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।

जलवायुविज्ञ धर्मराज उप्रेती देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने बताउँछन् । “कोसी प्रदेशमा असार ५ गते पुगेको मनसुनी वायु असार ८ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पुगेको छ,” उनी फेसबुकमा लेख्छन्, “मनसुनी वायु थप विस्तार हुने वातावरण बन्दै गएकाले आगामी ४/५ दिनमा सुदूरपश्चिममा पुग्ने सम्भावना देखिन्छ ।”

तर, वर्षायामको जस्तो वर्षा देखिन भने पश्चिम नेपालले हप्ता/दश दिन पर्खिनु पर्ने उनले प्रस्ट पारेका छन् । “पूर्वी नेपालमा वर्षा आऊ/जाऊ गर्ने प्रकृतिको हुनाले खेतीपाती, वातावरण तथा वन वनस्पतिको लागि वरदान सावित हुनेछ,” उनी अगाडि लेख्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *