फिफा विश्वकप फुटबल २०२६: ब्राजिल, मोरक्को, क्यानडा र स्वीजरल्याण्ड नकाउट चरणमा

Thankot Times

थानकोट ।

स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २–१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । खेलको ५७औँ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल गर्दै खेलमा फर्कने कोसिस गरे । तर, खेलमा त्यसपछि गोल हुन सकेन र अन्ततः स्विट्जरल्यान्डले क्यानडामाथि २–१ गोलको जित निकाल्यो ।

स्विट्जरल्यान्डले तीन  खेलबाट सात अंक जोड्यो । पराजित क्यानडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको चार अंक छ । यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अंक रहे पनि गोलअन्तरका कारण पछि पर्‍यो ।

आजै भएको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई पराजित गर्दै जित निकालेको थियो । अंक तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ । बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । एक अंक बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ ।

ब्राजिल फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।

आज भएको खेलमा स्कटल्यान्डलाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिल नकाउट चरणमा प्रवेश गरेको हो । ब्राजिल समूह ‘सी’को विजेता बन्यो ।

बिहीबार बिहान सम्पन्न खेलमा विजयी हुँदै मोरक्को पनि प्रतियोगिताको नकाउट चरणमा पुगेको छ । मोरक्कोले हाइटीलाई ४–० गोल अन्तरले हरायो । मोरक्को उपविजेता बनेर नकाउट चरणमा प्रवेश गरेको हो ।

प्रतियोगिताअन्तर्गत अहिले समुह ए का दक्षिण अफ्रिका र दक्षिण कोरिया, चेक रिपब्लिक र मेक्सिकोबीच खेल भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *