आज सोमबारको मौसम पूर्वानुमान जान्नुहोस
थानकोट ।
मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा २–३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ।
विभागका अनुसार कोशी र मधेस प्रदेश तथा देशको पहाडी र हिमाली भू–भागमा साधाराणतया बादल लागेको छ र तराईका भू–भागमा आंशिक बादल लागेको छ। देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ विभागको अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको तथा देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
साथै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भु–भागका केही स्थानमा र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
मधेस, बागमती, गण्डकी प्रदेशको एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।










