चन्द्रागिरि क्षेत्रमा आज भारी वर्षाको सम्भावना
थानकोट ।
काठमाडाैं उपत्यकासहित देशका विभिन्न स्थानमा आज (बिहीबार) भारी वर्षाको सम्भावना रहेकाे छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बादल लागेको छ । देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
मधेश प्रदेश र कोशी प्रदेश तराईको एक-दुई स्थानमा पनि मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति देशको हिमाली भू-भागको केही स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्यांगसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।









