विद्यार्थीको हातमा पर्नुअघि नै चन्द्रागिरि नगरको स्थानीय पाठ्यक्रममाथि प्रश्न !
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रम विद्यार्थीको हातमा पर्नुअघि नै सो पुस्तकमा समावेश भएका सामाग्रीमाथि प्रश्न उब्जेको छ ।
चन्द्रागिरि नगरपालिकाले कक्षा १ देखी ८ सम्मका लागि अघिल्लो महिना एक समारोहका बीच विमोचन गरेका पुस्तकमा समावेश भएका दृश्य सामाग्री (तस्बिर) का विषयमा सम्बन्धित स्रष्टाले चिन्ता व्यक्त गरेका हुन् ।
चन्द्रागिरि नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले प्रकाशन गरेका ती पुस्तकहरूमा आफ्ना सृजना समावेश गरिएका तर सर्जकको नाम कतै उल्लेख नभएको प्रति थानकोट क्षेत्रका अग्रज फोटोपत्रकार प्रकाश गोपालीले शुक्रबार सामाजिक सञ्जालमार्फत विषय उठान गरेका हुन् ।
यस्तो छ फोटोग्राफर प्रकाश गोपालीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषयवस्तुः
तस्बिरको मूल्य केवल प्रयोगमा होइन, श्रेयमा पनि हुन्छ
करिब १५ वर्षदेखि फोटो पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै मैले नेपालको विभिन्न जिल्ला, हिमाल, सम्पदा, संस्कृति, जात्रा, प्राकृतिक सौन्दर्य तथा जनजीवनका हजारौँ तस्बिरहरू सङ्कलन गरेको छु। यी तस्बिरहरू केवल दृश्य होइनन्, समय, श्रम, लगानी, धैर्य र सिर्जनशीलताको प्रतिफल हुन्।
हालै चन्द्रागिरि नगरपालिकाले स्थानीय सरकारी विद्यालयका लागि कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यपुस्तक प्रकाशित गरेको देख्दा निकै खुसी लाग्यो। अझ ती पुस्तकहरूको आवरण तथा भित्री पृष्ठहरूमा मैले खिचेका केही तस्बिरहरू समावेश भएको देख्दा आफ्नो नगरको शैक्षिक सामग्रीमा योगदान गर्न पाएकोमा गर्व पनि महसुस भयो।
तर, सबै पुस्तक अध्ययन गर्दा एउटा कुरा निकै खड्कियो। ती पुस्तकहरूमा फोटोग्राफरको नाम वा फोटो स्रोत (Photo Credit) कतै पनि उल्लेख गरिएको रहेन। पुस्तकमा लेखक, सम्पादक, परामर्शदाता, प्रकाशक र अन्य योगदानकर्ताहरूको नाम समावेश गरिए पनि तस्बिर सिर्जना गर्ने फोटोग्राफरको योगदान भने ओझेलमा परेको देखियो।
फोटोग्राफरका लागि “फोटो क्रेडिट” केवल एउटा नाम छापिने विषय होइन। त्यो उसको सिर्जनाको सम्मान, पहिचान, व्यावसायिक प्रतिष्ठा र वर्षौँको मेहनतको कदर हो। एउटा राम्रो तस्बिर खिच्न कहिलेकाहीँ दिनौँको यात्रा, उचित समयको प्रतीक्षा, आर्थिक लगानी र ठूलो मेहनत आवश्यक पर्छ। त्यसैले तस्बिर प्रयोग गर्दा फोटोग्राफरको नाम उल्लेख गर्नु नैतिक र व्यावसायिक दुवै दृष्टिले आवश्यक हुन्छ।
म स्पष्ट रूपमा भन्न चाहन्छु—हामी फोटोग्राफरहरू आफ्ना तस्बिरहरू पुस्तक, पत्रिका, स्मारिका, बुकलेट, ब्रोसर, पर्यटन सामग्री वा अन्य प्रचार–प्रसारका प्रकाशनमा प्रयोग हुन नदिन खोजिरहेका छैनौँ। बरु आफ्ना सिर्जनाले समाज, शिक्षा, पर्यटन र स्थानीय पहिचान प्रवर्द्धनमा योगदान पु¥याओस् भन्ने हाम्रो चाहना हो। तर, ती तस्बिर प्रयोग गर्दा फोटो क्रेडिट दिनु सम्बन्धित संस्था र प्रकाशकको जिम्मेवारी पनि हो।
नेपालको प्रतिलिपि अधिकार (Copyright) सम्बन्धी व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यासले पनि सिर्जनाकर्ताको नाम उल्लेख गर्नु महत्त्वपूर्ण मान्दछ। विशेष गरी सार्वजनिक निकाय र शैक्षिक संस्थाहरूले यस विषयमा उदाहरणीय अभ्यास गर्नुपर्छ, ताकि विद्यार्थीहरूले पनि सिर्जनात्मक कार्यको सम्मान गर्न सिकून्।
म चन्द्रागिरि नगरपालिकाप्रति सम्मान व्यक्त गर्दै आगामी संस्करणका स्थानीय पाठ्यपुस्तक तथा अन्य प्रकाशन सामग्रीमा प्रयोग भएका तस्बिरहरूको फोटो क्रेडिट स्पष्ट रूपमा उल्लेख गरिनेछ भन्ने अपेक्षा गर्दछु। साथै, यो आग्रह केवल मेरो व्यक्तिगत विषय होइन; देशभरका सबै फोटोग्राफरहरूको सिर्जना, अधिकार र सम्मानसँग जोडिएको विषय हो।
सिर्जनाको सम्मान भनेको सिर्जनाकर्ताको सम्मान हो।
तस्बिर प्रयोग गरौँ, तर त्यसको वास्तविक स्रष्टालाई उचित श्रेय दिन कहिल्यै नबिर्सौँ।










